• Open Hours : Sun - Fri 10:00-5:00

३अर्ब १० करोड लगानीमा बन्ने भयो बुढीमाई छिन्केश्वरी केबुलकार 

काठमाडौं । मुलुकभरीनै निजी क्षेत्रबाट केबुलकारमा लगानी बढ्दै गएको छ । यस्तै तनहुँको आबुखैरेनीमा निजी लगानीमा अर्को केबुलकार सञ्चालनमा आउने भएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिज्म लिमिटेडको लगानीमा बुढीमाई छिन्केश्वरी केबलकार सञ्चालनमा आउन लागेको हो । केबुलकार सञ्चालन गर्न बन्दीपुरले बुढीमाई छिन्केश्वरी दर्शन प्राइभेट लिमिटेड स्थापना गरेको छ । 

तनहुँमा निर्माणाधीन बन्दीपुर केबुलकार सञ्चालनमा आएपछि छिन्केश्वरी केबुलकारको शिलान्यास गर्ने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । उनका अनुसार बन्दीपुर केबुलकार २०८० वैशाखदेखि सञ्चालनमा आउने छ ।

बन्दीपुरको ८० प्रतिशत बढी काम सकिएको छ । यस्तै बन्दीपुर केबुलकारको माथिल्लो स्टेसनमा रहने पाँचतारे स्तरको होटलको काम पनि अन्तिम चरणमा पुगेको छ । फिनिसिङलगायतका काम बाँकी छ ।

छिन्केश्वरी केबुलकारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । डीपीआरअनुसार छिन्केश्वरी केबुलकार बनाउन ३ अर्ब १० करोड रुपैयाँ लाग्ने देखिएको अध्यक्ष शर्माले जानकारी दिए । यद्यपि लागत घटबढ हुन सक्ने संभावना पनि छ । काम सुरु गरेको ३ वर्षमा केबलकार सञ्चालनमा ल्याउने योजना कम्पनीको छ ।

केबुलकार परियोजनामा नेपाल एसबीआई बैंकको अगुवाइमा ऋण लगानी हुने भएको छ । निर्माणाधीन बन्दीपुर केबुलकारमा पनि एसबीआई बैंकको ऋण लगानी रहको छ । ६० प्रतिशत बैंकको ऋण र बाँकी ४० प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ ।

अहिले छिन्केश्वरीमा बन्दीपुर केबुलकार एन्ड टुरिज्मको ९८ र बाँकी २ प्रतिशत व्यक्तिगत लगानी रहेको छ । पछि लगानी संरचनामा परिवर्तन गरी ५१ प्रतिशत बन्दीपुर केबुलकार र बाँकी ४९ प्रतिशत स्थानीय बासिन्दा र सर्वसाधारणको लगानी हुने उनले बताए ।

तनहुँको आबुखैरेनी गाउँपालिकाका छिन्केश्वरी । बुढीमाइको मन्दिर छ । पृथ्वी राजमार्गबाट २५ किलोमिटरभित्र कच्ची सडक पार गरेपछि त्यसपछि १ घण्टा पैदल हिँड्नु पर्ने छ । केबुलकार बनेपछि दूरी छोटिने भएको छ । केबुलकारको माथिल्लो क्षेत्रमा होटल बनाउने योजना कम्पनीको छैन ।

होमस्टे चलाउने स्थानीय बासिन्दासँगको सहमति भएको छ । बटमस्टेसनमा होटल बनाउने तयारी भएको छ ।

प्रस्तावित केबुलकारको लम्बाइ ३.६ किलोमिटर लामो हुने छ । केबलकारबाट ढिलोमा १५ मिनेटमा सिधैं छिन्केश्वरी मन्दिरमा पुग्ने छ । छिन्केश्वरी र बुढीमाई महाभारत शृंखलाको सबैभन्दा अग्लो डाँडामा छ ।

इन्टरमिडियट स्टेशन भएको छिन्केश्वरी नेपालको पहिलो केबुलकार हुने भएको छ । केबुलकार बीचमा खर्क भन्ने स्थानमा रोकिन्छ । त्यसपछि फेरि अघि बढ्ने छ । खर्कमा पनि मन्दिर भएकाले दर्शनका लागि रोक्ने व्यवस्था गर्न लागेको शर्माले सुनाए । यता २ अर्ब ६७ करोड रुपैयाँ लगानीमा पाँचतारे होटलसहितको बन्दीपुर केबलकार निर्माण भइरहेको छ ।  

पछिल्लो समयमा देशभरि नै केबुलकार बनाउने लहर चलेको छ । चितवन कोई ग्रुपले मनकामनामा केबुलकार बनाएको लामो समयपछि आइएमई ग्रुपको लगानीमा काठमाडौंमा चन्द्रागिरि केबुलकार सञ्चालनमा छ । यस्तै दोलखाको कालिञ्चोकमा पनि केबुलकार सञ्चालनमा आइसकेको छ ।

आइएमई ग्रुपले माघ १ गतेदेखि नवलपरासीको मौलाकाली र बुटबलमा एकसाथ केबुलकार सञ्चालनमा ल्याउने भएको छ । आइएमईले ६ वटा प्रदेशमा केबुलकार बनाउने योजना सार्वजनिक गरेको छ । यस्तै स्वर्गद्धारी, मुक्तिनाथ, पाथीभरालगायत क्षेत्रमा केबलकार सञ्चालनका लागि अध्ययनहरू भइरहेका छन् ।

सोर्स: क्यापिटल नेपाल